“कोरना र जनजीवन” फोटो प्रतियोगिता घोषणा !
कोभिड १९को महाव्याधिले पूरा विश्व त्राहिमाम बनाएको छ । सम्पूर्ण मानव जाति यो भाइरसविरुद्धको लडाइँमा एक जुट भएको छ । पछिल्लो शताब्दिकै सबभन्दा ठूलो संकट मानवजातीले अहिले भोगिरहेको छ । महाव्याधिका कारण नेपालसहित विश्वभरकै अर्थतन्त्र, सामाजिक संरचना र राजनीतिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । महाव्याधीले झण्डै आठ अर्बको मानव परिवारको जनजीवनमा नसोचेको परिवर्तन ल्याएको छ ।
मानव जातिको दैनिक जनजीवनमा कोरोना भाइरसको महाव्याधीले कस्तो प्रभाव पारेको छ त ? हाम्रो शैली कसरी परिवर्तन भएको छ ? हामीले आफ्ना क्रियाकलापलाई कसरी नयाँ ढंगमा उतारेका छौं ?
कोरोना भाइरसको महाव्याधीले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भईरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरुलाई तस्बिरका माध्यमबाट समेट्ने उद्देश्यका साथ फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले “कोरना र जनजीवन” (Life in the time of Corona) फोटो प्रतियोगिता घोषणा गरेको छ जसमा प्रथम, दृतिय र तितृय गरि क्रमशः ३० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेता सहित उत्कृष्ट ५० फोटोहरु छानिने छन्, जसलाई देशका विभिन्न ठाँउहरुमा प्रर्दशनी गरिने हाम्रो योजना रहेको छ ।
क्यामरा वा मोबाईल फोन दुवैबाट खिचिएका तस्विर पठाउन सकिने यस प्रतियोगितामा नि:शुल्क भाग लिन सकिने छ । प्रतियोगीले मंगलबारबाटै संस्थाको आधिकारिक वेभसाइट http://tannerichaso.net/photocompetition मा गएर दिइएको निर्देशन अनुसार फोटो दर्ता गर्न सकिने छ । प्रतियोगितामा व्यवसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । मंगलबार (भाद्र ९ २०७७) बाटै सुरु हुने दर्ता प्रक्रिया असोज १०, २०७७ शनिबार मध्यरातमा १२ बजे बन्द हुनेछ ।
यस प्रतियोगिताका तस्विरहरूले उर्जा, साहस, आत्मियता, सहानुभूति, सहयोग र एकताको भावना जगाउने छन्, जसले आउँदा दिनहरूमा सरकार र आम नागरिकहरूलाई विपत्तिका बेला ख्याल गर्नुपर्ने कुराहरू र आउने दिनहरुमा गर्नुपर्ने कुराहरूको बारेमा पनि जानकारी दिनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
यस फोटो प्रतियोगिताको ३ सदस्यीय निर्णायक मण्डल रहेको छ । एजेन्सी फ्रान्स प्रेस (एएफपी) का वरिष्ठ फोटोपत्रकार एवंम नेपाल फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य प्रकाश माथेमाको अध्यक्षता रहने निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्ट्का फोटो सम्पादक एवंम फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्की रहेका छन् ।